काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत वेवास्ता गरेपछि जरिवानाको पत्र पठाएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।
रसायनिक फोहोरमैला, औद्योगिक फोहोर, स्वास्थ्य संस्थाजन्य फोहोर, जोखिमपूर्ण फोहोर वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्थाअनुरूप पत्र काटिएको उनले बताइन् ।
यही कसुर दोहोर्याए पहिलो पटक गरिएको जरिवानाको दोब्बर अनुमति रद्द गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ । महानगरले एभरेष्ट अस्पतालको फोहोर व्यवस्थापन भए/नभएको बारे ३ पटक अनुगमन गरिसकेको जनाएको छ । यसअघि सुझाव र सुधारको मौका दिइए पनि अस्पतालले लापरवाही गरेको महानगरको भनाइ छ ।
Discussion about this post