नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षा विधेयक संसद्बाट वैशाख महिनाभित्रै पारित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने बताएका हुन्।
बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग भएको छलफलबारे पत्रकारहरूलाई जानकारी दिँदै उनले वैशाख १२ गतेदेखि सुरू हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे।
संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ।
उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए।
ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताए।
उनले शिक्षकहरूमा शिक्षाप्रतिको जबाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे।
Discussion about this post