माछापोखरी आसपासका सडक किनारा क्षेत्रमा बिहान साँढे सात बजेसम्म तरकारी लगायत उत्पादन बेच्ने सहमति भएपछि काठमाडौं महानगरपालिकाको फोहोर बिसर्जनमा स्थानीयले गरेको अवरोध हटेको छ।
बालाजु प्रहरी वृत्तमा शुक्रबार मध्याह्न काठमाडौं महानगरपालिका, नुवाकोट ककनी र तारकेश्वरका जनप्रतिनिधि, स्थानीयबीच छलफल भएको थियो।
माछापोखरीदेखि नुवाकोटतर्फ जाने चोकसम्मको भागमा बिहान साढे सात बजेसम्म तरकारी लगायत स्थानीयको उत्पादन बेच्न दिन महानगर तयार भएको वातावरण व्यवस्था विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।
‘बिहान साढे सात बजेसम्म उहाँ (स्थानीय) हरूलाई माछापोखरी आसपास क्षेत्रमा तरकारी बेच्न दिइनेछ। साढे सातबजेसम्म तरकारी र त्यसका अवशेष उठाइसक्नुपर्नेछ,’ उनले भनिन्, ‘यो अर्को व्यवस्था नभइञ्जेलका लागि हो, दीर्घकालीन होइन।’
काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्रमा तरकारी बेच्न नदिएपछि तारकेश्वर र नुवाकोटका स्थानीय बासिन्दाहरूले शुक्रबार फोहोरका गाडीहरूलाई बाटोमै रोकेका थिए।
स्थानीयको अवरोधपछि काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका दुई सयभन्दा बढी गाडीहरू तीनपिप्ले र कागतीगाउँ क्षेत्रमा रोकिएका थिए।
Discussion about this post