वेस्ट इन्डिजविरूद्धको युनिटी कप जितिसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले बलर सन्दीप लामिछानेले यो प्रतियोगिता नखेलेकोबारे धारणा सार्वजनिक गरेको छ।
तीन वटा खेलमा नेपालले दुई वटा लगातार जितेर उपाधि हात पारिसकेको छ। यसबीच सन्दीप लामिछाने किन खेलेनन् वा खेलाइएनन् भन्नेबारे विभिन्न टिकाटिप्पणी भइरहेका थिए।
सिरिज सकिएको भोलिपल्ट बुधबार क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै लामिछानेले खेल सुरू हुनु ४५ मिनेटअघि नखेल्ने बताएको हुँदा अरू दुई खेलमा निलम्बन गरेको जानकारी दिएका छन्।
‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबीच सेप्टम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी-२० सिरिज प्रतियोगिताको पहिलो खेल सुरू हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछाने स्वयंले उक्त म्याच नखेल्ने निर्णय गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी तथा समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा बाँकी दुई खेल तथा नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज प्रतियोगिता अवधिभरका लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।’
लामिछानेले खेल हुनुभन्दा ४५ मिनेट अगाडि आएर किन नखेल्ने भनेका थिए भन्नेबारे विज्ञप्तिमा खुलाइएको छैन।
























Discussion about this post