नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौंमा उत्रिन आह्वान गरेका छन्।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिए ।
उनका अनुसार सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।
सभा अगाडि र्याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । ‘कम्तिमा १०/१५ हजार जनाको संख्यामा प्रदर्शन र सभा गर्ने तयारी छ,’ नेकपाका नेता बुढामगरले भने ।
उनका अनुसार प्रदर्शन र सभास्थल भने निश्चित भइसकेको छैन । जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेपछि प्रदर्शन र सभा गर्ने स्थान निश्चित गरिने उनले जानकारी दिए । ‘हाम्रो पहिलो प्राथमिकता त खुलामञ्च हो । तर त्यहाँ सभा हुन छाडेकाले भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क, टुँडिखेल कता प्रशासनले अनुमति दिन्छ त्यतै सभा गर्छौं’, बुढामगरले भने ।
यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन । विप्लव नेतृत्वको नेकपाको सभाबारे भने औपचारिक जानकारी नभएको भन्दै प्रतिक्रिया दिन मन्त्रालयका अधिकारीले अस्वीकार गरे ।
























Discussion about this post