सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी फोहोर फाल्न दिने सहमत भएका छन् ।
आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर सहरी विकासमन्त्री घिसिङले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री घिसिङले मौखिक प्रतिबद्धता जनाएपछि फोहोर फाल्न दिने सहमत भएको नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।
उनले नेपालप्रेससँग भने,‘ मन्त्री ज्यूले १५ दिन भित्र स्थानीयले उठाएको मागहरु पूरा गर्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको हो । उहाँले प्रतिबद्धता जनाउनुभएपछि हामी फोहोर फाल्न दिन सहमत भइसकेका छौं । ’ स्थानीयको सहमति लगतै फोहोर बोकेर बीच बाटोमा रोकिएका गाडीहरु बञ्चेरडाँडा हिँडेका छन् ।
पछिल्लाे केहीदिन यता बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राख्दै काठमाडाैं उपत्यकाकाे फाेहाेर फाल्न अवराेध गर्दै आएका थिए ।
फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए ।
सिसडोल बञ्चरेडाँडा –कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।
























Discussion about this post