चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हत्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ।
आइतबार बेलुकी करिब ७:३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहार गरी अनिल परियारको हत्या भएको थियो।
परियारको शरीरका विभिन्न ठाउँमा छुरी प्रहार भएको थियो। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
कांग्रेस चितवन सभापति राजेश्वर खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै धारिलो हतियार प्रहार गरी अनिलको हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित तुल्याएको छ,’ उनले भनेका छन्, ‘घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।’
साथै यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने पनि सभापति खनालले निकालेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले भने घटनामा संलग्न समूहको खोजी भइरहेको बताएको छ।
Discussion about this post