काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए।
वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन्। ३ सय ५० मतसहित नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।
यसअघिको निर्वाचनमा यो वडामा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मतसहित विजयी भएका थिए। वडा नम्बर एकमा नक्साल, नारायणहिटी क्षेत्र पर्छन्।
यस्तै २ नम्बर वडामा पनि ५ सय ५७ मतसहित बालेनलै नै अग्रता लिएका छन्। उनलाई स्थापितले ३ सय ५१ मतसहित पछ्याइरहेका छन्। कांग्रेसकी सिर्जना सिंह २ सय चार मतसहित तेस्रो स्थानमा छिन्। यसअघि यहाँ एमालेका राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए। उनले एक हजार ८ सय ४० मत ल्याएका थिए। यो वडामा लाजिम्पाट क्षेत्र पर्छ।
यसैगरी वडा नम्बर ३ मा पनि अग्रता लिएका बालेनले ३ सय ४९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २ सय ८४ मत ल्याएकी छन् र स्थापितले २ सय ८ मत ल्याएका छन्।
यसअघि यो वडामा एमालेका दिपक केसी ३ हजार ६२ मतसहित विजयी भएका थिए। यो वडामा भने महाराजगञ्ज, बाँसबारी क्षेत्र रहेका छन्।
वडा नम्बर ४ मा पनि ५ सय ६३ मतसहित बालेन नै पहिलो स्थानमा छन्।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २ सय ८१ र तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले २ सय ६४ मत पाएकी छन्। यसअघि यहाँ एमालेकै मोहनबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए। यो वडामा चण्डोल, बालुवाटार, विशालनगर र धुमबराही क्षेत्र रहेका छन्।
यस्तै ३२ नम्बर वडामा पनि अग्रता लिएका बालेनले ५ सय ८२ मत प्राप्त गरेका छन्। ३ सय दुई मतसहित स्थापित दोस्रो र २ सय ५७ मतसहित सिर्जना तेस्रो स्थानमा छिन्।
यो वडामा यसअघि एमालेकै नवराज पराजुली निर्वाचित भएका थिए। उनले ५ हजार ८ सय ७९ मत पाएका थिए। यो वडामा महानगरका कोटेश्वर, जडिबुटी र पेप्सिकोला क्षेत्र पर्छन्।
Discussion about this post