तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।
‘हालसम्म हाम्रो उद्धार टिमले १४ जनाको शव भेटेको छ। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको हो, अन्यको खोजी भइरहेको छ’, नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।
कर्णको अनुसार अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।
आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।
आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ । अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।
Discussion about this post