राप्रपाले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएको छ।
धुलिखेलमा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थामा जानुपर्ने प्रस्ताव अघि सारेको छ।
यही जेठ १८ र १९ गते धुलिखेलमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकको रुपमा राजसंस्थाको पुनर्बहाली गर्नसमेत प्रस्ताव गरेको छ।यस्तै राप्रपाले पूर्ण समानुपातिक संसद हुनुपर्ने बताएको छ। अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने व्यवस्था अघि सारेको छ।राप्रपाले केन्द्र र बलियो स्थानीय तह भए पुग्ने भन्दै प्रदेश आवश्यक नरहेको बताएको छ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले गरेका यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउनेछ। केन्द्रीय समिति बैठकबाट यी प्रस्ताव पारित गरेर अघि बढ्ने उनले बताए।कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए।प्रवक्ता श्रेष्ठका अनुसार असारमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको छ। असार ७, ८ र ९ गते केन्द्रीय समिति बैठक बस्ने उनले बताए।भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन गर्ने निर्णय पनि भएको छ।
यस्तै, राप्रपाले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमै छनौट गर्न उपयुक्त हुने ठहर गरि पार्टी भित्र र बाहिरबाट समेत राप्रपाका तर्फबाट उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णयसमेत गरेको छ।
Discussion about this post