नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्लाई जानकारी दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले संसद्मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताए । ‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भने, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।’
थापाले पूर्ववर्ती रक्षामन्त्रीहरुले पनि एसपीपी सम्झौता सकारात्मक भन्दै अघि बढाएको पनि स्मरण गराए।
‘पूर्ववर्ती रक्षामन्त्रीहरुले सकारात्मक रुपमा यसलाई अघि बढाएको बताएका छन्’, उनले भने, ‘कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुँदैन। छिमेकी या शक्ति राष्ट्र जोसुकै भए पनि हामी कुनै सैनिक क्याम्पमा जानु हुँदैन।’
नेपालले केही समयअघि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिन सहमति जनाएको थियो । र, यस्तो विकासे अनुदान अमेरिकाजस्तै अन्य मुलुकसँग पनि लिनुपर्छ । थापाले भने, ‘तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन ।’
कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै उनले एसपीपी संविधानविपरीत रहेको दाबी गरे । उनले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’
‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’
Discussion about this post