प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताएका छन्।
आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाएका हुन्। अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनर प्रोग्राम (एसपीपी) प्रस्तावमा हस्ताक्षर गर्नेगरी प्रधानमन्त्री देउवा सकारात्मक रहेको समाचार सार्वजनिक भएपछि गठबन्धनका शीर्ष नेताहरुले बालुवाटार पुगेर यसबारे धारणा मागेका थिए। ‘एसपीपीका विषयमा बिहान प्रधानमन्त्रीलाई गठबन्धनका चार नेताले भेटेका थियौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा भने,‘त्यस्तो राष्ट्रिय हितविपरीतको कुनै सम्झौतामा हस्ताक्षर गरिदैँन भन्नुभयो।’पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले सम्झौता गर्दिनँ भने पनि त्यसैमा ढुक्क नहुने बताएका छन्। प्रधानमन्त्री छिट्टै अमेरिका भ्रमणमा जाँदैछन्, अमेरिकी सेनाले एसपीपी मस्यौदामा हस्ताक्षर गर्न ताकेता गरिरहेको छ। ‘हामी चनाखो भएर वाच गर्नुपर्छ,’ नेपालले बैठकमा राखेको धारणा उधृत गर्दै एक नेताले नेपालखबरसँग भने। तीन दिने नेपाल भ्रमणमा गत विहीबार आएका युएस आर्मी प्यासिफिक कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको एसपीपीमा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका थिए।अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको एसपीपी सम्झौताको मस्यौदा सोमबार सार्वजनिक भएको थियो ।१० धारा, ६ पृष्ठमा समेटिएको मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। नेपाली सेनासँग रणनीतिक सम्बन्ध विस्तार गर्ने भन्दै अमेरिकी सेनाले बढाएको प्रस्तावप्रति विज्ञहरुले चिन्ता जनाएका छन्। प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दवाव नदिएको पनि प्रष्ट्याएका थिए । प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका थिए । देउवाले एसपीपी सम्झौता गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै आश्वस्त पारेका थिए ।‘हाम्रो परराष्ट्र नीतिमा कुनै विचलन हुन दिइने छैनौं । कसैको पक्षमा ढल्कने कुरा हुँदैन । हामी असलंग्न परराष्ट्रनीति छाड्दैनौ भनेर प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपालले पत्रकारहरूसँग भने ।
Discussion about this post