काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए ।
क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित्दै आएका छन् ।
पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए ।उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए ।
आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनको विश्वास छ । ‘मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’
ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने उनले बताए ।
आफूसँग विकासको एजेण्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए ।
विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन् ।
पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता आर्यन सिग्दलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।
Discussion about this post