जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताए ।
‘जसपाले तीन मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेको छ। योसम्बन्धी पत्र अध्यक्ष यादवले प्रधानमन्त्रीलाई बुझाउनुभएको छ। सम्भवत आजै मन्त्री नियुक्ति भई सपथ हुन्छ,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। हालै नेकपा एकीकृत समाजवादीले पनि पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो। अध्यक्ष यादवले मन्त्री फिर्ता बोलाउन नखोजेको भन्दै विरोध पनि भएको थियो।
नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।
Discussion about this post