काठमाडौँ महानगरपालिकाले फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको बताएको छ।
महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।
एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण गराए।
‘महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो’, सापकोटाले भने।
काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए।
अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाइ छ।
Discussion about this post