Khabar Samachar

नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खाेलियाे

210
VIEWS

अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ।

दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र) मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए।

‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोका मात्रै खोलिएको थियो’ उनले भने, ‘नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो।’

गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ।

नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ।

नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन्।

नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उनले अहिले नारायणीमा पानीको बहाव सामान्य रहेको जानकारी दिए।

नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन्।

त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ।

हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन्।

आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित