विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक चयन गरे सङै रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् ।
३८ वर्षीया बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । ३४ वर्षीय भट्टराई भने तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको निति विभाग प्रमुख थिए ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएपछि नयाँ नेतृत्व चयन छिटो गर्न दबाब थियो । पूर्वअध्यक्ष मिश्रले आफ्नै नेतृत्वमा दल दर्ता गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका थिए । तर, मिश्रको समूह र असन्तुष्ट समूहबीच लेनदेन भएपछि तत्कालीक रूपमा समस्या समाधान भएको हो ।
अहिले भएको समझदारीमा पूर्वसंयोजक मिलन पाण्डे समूह भने संलग्न छैन । पाण्डेनिकट एक नेताले यो मिश्र समूहबीचकै आपसी समझदारी मात्र भएको बताए ।
‘यो विचारभन्दा माथि देशका पक्षधरहरूबीचको समझदारी हो । हामी पार्टीको वैठकमा सहभागी हुँदैनौं,’ उनले भने ।
मिश्रले विचारभन्दा माथि देशको अवधारणा ल्याएपछि पाण्डे समूह असन्तुष्ट बनेको थियो । तर, पार्टीको दुईतिहाइ बहुमतबाट उक्त विचार पारित भयो । साथै पाण्डेलगायत उनको समूहका नेताहरूलाई कारबाही गरेर हटाइएको छ ।
पछि मिश्रले आफूखुसी राप्रपासँग एकता प्रयास अघि बढाएको र मनोमानी निर्णयहरू लिएको भन्दै अर्को असन्तुष्ट समूह जन्मिएको थियो । यो समूहको नेतृत्व निर्देश सिलवालले गरेका थिए । सिलवाल पक्ष अहिले बास्कोटालाई अध्यक्ष स्वीकारेर जान तयार देखिएको छ ।
अर्कोतर्फ अध्यक्ष मिश्रले अहिले राजसंस्थाकै वकालत गर्न थालेपछि यस विषयमा पनि पार्टीभित्र मतैक्य बन्न सकेको छैन । बास्कोटा लगायतका नेताहरू मिश्रकै लाइनमा जानुपर्ने पक्षमा छन् । सिलवाल पक्ष भने संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा सहमत भए पनि राजतन्त्रको एजेन्डा स्वीकार्न तयार छैनन् । वैचारिक मतभेदलाई थाती राखेर अहिले नेतृत्वको विषयमा भने उनीहरू समझदारीमा आएका हुन् ।
चुनावी हारपछि मिश्रले ११ जेठमा विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । यद्यपि लामो समयसम्म उनको राजीनामा स्वीकृत भएन । विभिन्न गुट उपगुटमा विभाजित भएको पार्टीको बैठक समेत बस्न नसक्ने अवस्था आएको भन्दै मिश्रले हालै मात्र चुनावी प्रयोजनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गरेर अघि बढ्ने विकल्प नेताहरुलाई दिएका थिए ।
मिश्र अध्यक्ष रहेका बेला संयोजकबाट हटाएर कारबाही गर्दा समेत उनले पार्टी छाडेका थिएनन् । आफूहरु नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म गएका थिए । मिश्रले राजीनामा दिएपछि पनि उनले विवेकशील साझामै सक्रिय हुन सकिन्छ कि भनेर नेताहरुसँग छलफल गरेका थिए ।
तर आइतबार वक्तव्य जारी गर्दै उनले पार्टी पुनगर्ठन अभियान अघि बढाउने घोषणा गरेका छन् । जे प्रयोजन र उद्देश्यका लागि पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढ्ने भन्दै उनले भनेका छन्, ‘वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौं ।’
Discussion about this post