Khabar Samachar

टी-२० सिरिजमा नेपालको विजयी सुरूवात

204
VIEWS

नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीचको काठमाडौंमा जारी टी२० शृंखलाअन्तर्गत आज भएको खेलमा नेपालले पीएनजीविरुद्ध जित हासिल गरेको हो।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई  १५ रनले पराजित गरेको हो।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो।

पीएनजीलाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट झारे।

सन्दीपले आफ्नो स्पेलमा २२ रन खर्चे। ४ ओभर बलिङ गरेका अविनास बोहोरोले २९ रन खर्चेर २ विकेट लिए। करण केसीले आफ्नो स्पेलमा  ४४ रनखर्चेर ३ विकेट झारे। सोमपाल कामीले एक विकेट लिए।

पीएनजीका नोर्मान चनुवाले ५२ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न भने सकेनन्। उनले २९ बलमा ५ चौका र ४ छक्का हाने।

१८औँ ओभरको पाँचौ बलमा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।

सेसे बाउले बनाएको ३० रन थपे। चार्लेस अमिनीले २२ तथा लिगा सिकाले २१ रन थपे। सेसे बाउ सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। सन्दीपको बलमा नै जसोन किला शून्य रनमा नै एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के। अमिन अविनासको बलमा बोल्ड आउट भए।

टोनी उरा ५, रिले हेकुरे ३, असद भाला ७ रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि आशिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर आशिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। ३५ बलको सामना गरेका आशिफले ५ चौका र १ छक्का हाने। रोहित पौडेल ३४ रन थप्दै पवेलियन फर्के। २६ बलमा २ चौका र १ छक्का हाने।

अर्का ओपनर कुशल भुर्तेल २० रन बनाउँदा रन आउट भए। ११ बलमा कुशलले ३ चौका र १ छक्का हान्दै २० रन बनाएका थिए। करण केसी १४ रन थप्दै पवेलियन फर्के। ७ बलको सामना गरेका करणले २ छक्का प्रहार गरे। १८ औँ ओभरको पहिलो बलमा लामो सट खेल्ने धुनमा हुँदा करण क्याच आउट भए। आरिफ शेख ३१ रनमा पवेलियन फर्के। २२ बलमा ३ चौका र २ छक्का हाने।

कुशल मल्ल ११ र लोकेश बम ५ र दिपेन्द्रसिंह ऐरी ४ र सोमपाल कामी १ रन थप्दै आउट भए। कप्तान सन्दीप लामिछाने १  अविनास बोहोरा १ रनमा नटआउट रहे।
पीएनजीका चार्लेस एमिनी र एलि नाओले समान दुई विकेट लिए। चाड सोपर, नोर्मान र रिलेले समान १ विकेट आफ्नो नाममा गरे।

सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले बिहीबार मलेसियासँग खेल्नेछ। बुधबार पीएनजी र मलेसिया खेल्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित