काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र मापदण्ड विपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ।
हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरपालिकाले जनाएको छ।
‘काठमाडौं महानगगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड (भवन भन्नाले कम्पाउन्ढ वाल समेतलाई जनाउने कानूनी व्यवस्था छ) ले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खाल (कम्पाउन्ड) को नक्सा पेस गरी प्रचलित कानून बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा कतिपय पर्खालहरु नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले यो सूचना प्रकाशित गरिएको छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
पर्खाल नहटाएमा महानगरपालिकाको टोलीले नै सो संरचना हटाउने जनाइएको छ।
‘अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ। उल्लेखित ३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा यसै कार्यालयबाट टोली खटी आई त्यस्ता सीमा पर्खाल हटाइनेछ र हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्बद्ध सबै सरोकारवालालाई सूचित गरिन्छ।’ जारी सूचनामा भनिएको छ।
Discussion about this post