नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। उनी पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी हुन्।
माओवादीको भागमा परेको काठमाडौ ७ बाट मानुषी उम्मेदवार बन्ने निश्चित रहेको एकजना पदाधिकारीले नेपालखबरलाई बताए।
यसपटक बाबुराम उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दैछन्।
भट्टराई आफू कहाँबाट उम्मेदवार बन्छन् अहिलेसम्म प्रस्ट भएको छैन। तर उनकी छोरी काठमाडौ ७ बाट उम्मेदवार बन्ने पक्का भएको छ।
यससँगै अब मानुषीले काठमाडौं ७ मा कांग्रेस, माओवादीको साथ पाउने छिन्।
माओवादीले आफ्नो भागमा परेको सिटमा शनिबार उम्मेदवार चयन गर्दैछ।
माओवादीको चुनाव चिन्ह लिएर यसपटक नेसपा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्दैछ।
२०७४ को निर्वाचनमा काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनी १८१०२ मत ल्याएर विजयी भएका थिए।
उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका थिए।
यस पटक काठमाडौं ७ मा एमालेले रामवीरलाई टिकट दिएको छैन।
यहाँ यस पटक एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउँदैछ।
Discussion about this post