Skip to main content

Khabar Samachar

Search
Close this search box.

आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन

206
VIEWS

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो ।

दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ ।

तेश्रो बनेको अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदूर पश्चिमले १ रजत र २ कांस्य तथा बाग्मती प्रदेशले १ कांस्य मात्र जित्न सक्यो । सहभागीमध्ये लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो ।

विजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपीएफका बिराट थापा तेस्रो भए । गंगा र तिलक वरीयतामा पनि पहिलो र दोस्रो स्थानमै थिए । विराट पाँचौ वरीयतामा थिए ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकै ज्ञानु अवाले तेस्रो भइन् । वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा थिइन् । ज्ञानु तेस्रो वरीयतामै थिइन् ।

कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै खेलाडी फाइनल भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए । वरीयतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै थिए । सुरेश चौथो वरीयतामा थिए ।

कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरीयताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले पराजित गर्दै स्वर्ण जितिन् । तेस्रो वरीयताकी एपीएफकी निर्मला कानवाङ राई तेस्रो नै भइन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरीयताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते ।

र्‍याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि परे । बाग्मतीका फर्माचन शेरचन तेस्रो भए । शेरचन पाँचौ वरीयतामा थिए ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् । वरीयता निर्धारणमा शारदा दोस्रो स्थानमा थिइन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित