पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् । शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए।
शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ ।
तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको भने फैसला हुन बाँकी छ । दुवै ठाउँमा एकै व्यक्तिले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्यो। यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी उच्च अदालतमा पुनरावेदन गर्न गएका हौं’, वाग्लेले भने।
पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लगाइएको थियो। अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो। तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो।
Discussion about this post