प्रमुख सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ गते भएको आमनिर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गर्नेहरूको सूची मागेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता कार्यकर्ताहरुको सूची मागेको हो।
‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने’, अनुशासन समितिका प्रेम केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्नेछ।’
कांग्रेसमा पछिल्लो समय अन्तर्घात गरेर ठाउँ ठाउँमा हराएको गुनासो आइरहेको छ। कांग्रेसका अलग अलग गुटले एक अर्कालाई अन्तर्घात आरोप लगाइरहेका बेला अनुशासन समितिले छानबिन र कारवाही अघि बढाएको हो।
Discussion about this post