पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
एजुकेसन सिटी रंगशालमा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजमा पराजित गर्दै मोरक्कोले इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकाे हाे।
निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो ।स्पेनका पाब्लो साराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केटको पेनाल्टी मोरक्कोका गोलकिपर बोनोेले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिला पेनाल्टिमार्फत अबदेलहामिद साबिरिले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि बाडा बेनाउनले पेनाल्टि मिस गर्दा आस्राफ हाकिमी र हाकिम जियाचले गोल गर्दै मोरक्कोकोलाई सानदार जित दिलाए ।
समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई २–० गोलको नतिजमा हराएको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ को नतिजमा पराजित गर्दे समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।
यस्तै, पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलको नतिजमा पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा जापानसँग पराजित स्पेन समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।
मोरक्को र स्पेन विश्वकपमा दोस्रो पटक आमनेसमाने भएका हुन् । सन् २०१८को समूह चरणमा भेट हुँदै दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।
सन् २०१० मा विश्वकप जिते यता स्पेन अन्तिम १६ बाट माथि पुगेको छैन । २०१८ विश्वकपको अन्तिम १६मा आयोजक रुससँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बहिरिएको थियो ।
सन् १९८६ को विश्वकपको अन्तिम १६मा जर्मनीसँग १–० गोलको नतिजमा पराजित हुँदै बाहिरिएपछि मोरक्को पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
मोरक्कोले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
Discussion about this post