Khabar Samachar

आम जनता पार्टी खोल्दै प्रभु साह र अमरेशकुमार सिंह

206
VIEWS

एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी गरेका छन् ।

उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने उनले बताए ।

साहले  भने, ‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ, अब आफ्नो छुट्टै दल खोल्ने तयारीमा छु ।’

पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना उनले औंल्याए ।

अमरेशसँग मिलेर पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामी छुटै पार्टी गठन प्रक्रियामा छौं । उहाँसँग छलफल हुन पनि सक्छ, अहिलेसम्म भएको छैन ।’

कांग्रेस त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै जितेका अमरेशकुमार सिंहले पार्टी खोल्ने तयारी भइरहेको पुष्टि गरे । उनले नेपालमा लोकतान्त्रिक चरित्रको पार्टी नै नभएकाले अब साँचो अर्थमा लोकतान्त्रिक पार्टी बनाएर देखाउने बताए ।

‘लोकतन्त्रको नाममा दलको सिन्डिकेटमात्रै भयो’, अनलाइनखबरसँग सिंहले भने, ‘म साँच्चिकै लोकतान्त्रिक पार्टी बनाउँछु । देशभरि कार्यकर्ताहरुको भावना पनि बुझ्छु । त्यसपछि पार्टी गठन अघि बढ्छ ।’

उनले आफ्नो सहकार्य साहसँग हुन्छ या हुँदैन भन्नेबारे प्रष्ट भने गरेनन् । अमरेश सिंह यसअघि कांग्रेसबाट सर्लाहीमा चुनाव जित्दै आएका थिए । यसपल्ट भने उनले टिकट पाएनन् ।

चुनावमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेपछि रुष्ट बनेका पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी थिएका दिए । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित