ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ ।
ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले ७ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका सन्दीपले आशिफसँग कीर्तिमानी ७७ रनको साझेदारी गरे।
आठौँ विकेटका लागि नेपाली ब्याटरले गरेको यो सर्वाधिक रनको साझेदारी हो।
यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाममा ५५ रनको साझोदारीको रेकर्ड थियो।
नेपालका सुरुवातका ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा धरापमा परेको नेपाली इनिङ्स आशिफ एक्लै सम्हालिरहेका थिए।
कुशल मल्लले २३ रन बनाए पनि विकेट नटिक्दा नेपाल हार नजिक पुगेको थियो।
१०५ रन बनाउँदा ७ विकेट गुमाएको नेपाललाई कुशल र सन्दीपले अबिजित रहँदै महत्वपूर्ण जित दिलाए।
आशिफले १३० कलमा २ चौका र १ छक्काको मद्दतमा नटआउट ८६ रन जोडे। सन्दीप ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे।
पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले १२ बल बाँकी हुँदा पूरा गर्यो। यसअघि युएईविरुद्ध पनि सन्दीपले नटआउट २६ रन जोडेका थिए।
सन्दीपले एक दिवसीयमा सर्वाधिक रनको आफ्नै कीर्तिमान पनि तोडेका छन्। यसअघि उनले सर्वाधिक २८ रन जोडेका थिए।
जितसँगै लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
Discussion about this post