Khabar Samachar

Search
Close this search box.

नेपालमा वान एक्सबेट खेलाउने ६ जना पक्राउ, करोडौं कारोबार गरेको भेटियो

208
VIEWS

नेपालमा वानएक्स बेटमार्फत सट्टेबाजी खेलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।उपत्यका प्रहरी अपराध महाशाखाले जुम्लाको चन्दननाथ नगरपालिका ६ खलङ्गाका २३ वर्षीय दिलिप सिंह कठायत, २३ वर्षकै भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका ५ का २८ वर्षीय वरुणकुमार सिंह काभ्रेपलान्चोकको मादनकुडारी गाउँपालिका १ की २६ वर्षीया शिवानी तामाङ र काठमाडौं महानगरपालिका ३२ का वासुदेव पाण्डेलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले विभिन्न सेवा प्रदायक कम्पनीका ३४६ थान सिमकार्ड, मोबाइल, चेकबुक र एक थान ल्यापटप पनि बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले जानकारी दिए।

उनीहरुले नेपालबाट एजेन्टको भूमिका निर्वाह गरेको पाइएको छ। थप कारबाहीका लागि भक्तपुर र काठमाडौं परिसर पठाइएको छ।
पक्राउ परेका दिलिपसिंह कठायतले विगत एक वर्षदेशि वान एक्सबिट खेलाउने गरेको पाइएको छ।

भुपाल ९ महिनादेखि, नयनराज ६ महिनादेखि, बरुन ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोलेर रोशन गुरुङलाई उक्त खाता सञ्चालन गर्न दिएको पाइएको छ। उनी ८ महिनादेखि संलग्न रहेको र वासुदेव १ महिनादेखि संलग्न रहेको खुलेको छ।

उनीहरुले रकम संकलन गरेको आधारमा कमिसन भुक्तानी हुने भएकाले बढी रकम संकलन गर्न विभिन्न व्यक्तिका नाममा कारोबार गर्ने गरेको खुलेको छ। वालेटबाट संकलन गरेको रकम पक्राउ परेका दिलिप कठायत, भुपाल न्यौपाने र नयनराज भण्डारीको नाममा रहेका ८ वटा र आफ्नो बहिनीको नाममा रहेका २ वटा खाता, नक्कली कम्पनी खडा गरी उक्त नाममा २ वटा कर्पोरेट खाता गरी १२ वटा खाता सञ्चालन गरेको पाइएको छ।

यी १२ वटा खातामध्ये कारोबार विवरण ९ वटा खातामार्फत प्राप्त भएको र ती खातामा ७ करोड ७७ लाख ७ हजार ३२ रुपैयाँको कारोबार भएको पाइएको छ।

३५ जनाको नाममा खोलिएका डिजिटल वालेटहरुमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार देखिएको छ। ती वालेटहरुको कारोबार हाल रोक्का राखेर थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

अन्य १५ जनाको नाममा ३४ वटा बैंक खाता सञ्चालन गरेको र ती खातामा १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ कारोबार देखिएको छ। यी बैंक खाताहरु समेत प्रहरीले रोक्का गरेको छ। पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको बेटिङ कारोबार भएको खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित