काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैंको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए। शुक्रबार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे। महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर, कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।

‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्। नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन, जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलिसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छन्’, महासचिव सिटौलाले भने, ‘अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेका छन्। बागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ। यो पनि हामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभाग मार्फत् भनेका छौँ। असोजको ११ गतेबाट अग्रिम टिकटको सुरुवात हुन्छ।’

महासङ्घका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरूबाट सहजै बुकिङ गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय