Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरले फोड्यो विद्यार्थी युनियनले लगाएको ताला

208
VIEWS

कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ।

बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

‘विद्यालयमा राजनीति हुनु हुँदैन र गर्न पनि पाइँदैन,’ उनले भने, ‘विद्यालय भनेको पढ्ने ठाउँ हो। त्यहाँ राजनीति हुनु हुँदैन। यसको विरोधमा लगाइएको ताल्चा हामीले फोडेका हौं।’

शुक्रबारदेखि सबै विद्यालयहरूमा ‘बुक फ्री डे’ सुरूआत हुन लागेको र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सोही कोठामा भएको हुँदा आजै ताल्चा खोलिएको उनले बताए।

बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। युनियनले भने कार्यक्रम गर्न पाउनुपर्छ भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो।

युनियनका संयोजक मिमबहादुर एडीले भने संगठनले पटक-पटक महानगरपालिकालाई मौखिक र लिखित रूपमा शैक्षिक विकृति र शैक्षिक रूपान्तरणका विषयसहित मागपत्र पेस गर्दा पनि कुनै जवाफ नदिएको बताएका छन्।

‘२०७९ पुस १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले निकालेको निर्देशनपत्र प्रति हाम्रो संगठनको गम्भीर आपत्ति छ। शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनविरूद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिवाद गर्न चाहन्छ,’ एडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

युनियनका मागप्रति गम्भीर नभए र शाखामा लगाएको ताला तोडिए युनियन थप संघर्ष गर्न बाध्य हुने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित