Skip to main content

Khabar Samachar

Search
Close this search box.

महानगरको चेतावनीपछि सेवाप्रदायकले नै थाले तार व्यवस्थापन

219
VIEWS

काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालााई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ ।

महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ (मूठो बनाएर) गरेर व्यवस्थापन हुनेछ ।

अब केबल टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले संयुक्त रुपमा तारको व्यवस्थापन गर्ने छन् ।

आइतबार सेवा प्रदायक कम्पनीहरु, सुरक्षा निकाय र महानगर प्रहरीसहित बैठक बसेर रुट छनोट गर्दै प्राथमिकीकरण गर्दै तार व्यवस्थापन गर्ने निर्णय गरेका थिए । सोमबार माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फको सडकखण्ड र न्यूरोड गेटदेखि बसन्तपुरतर्फको सडक खण्डमा व्यवस्थापनको काम सुरु गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । माइतीघरतर्फ कामको नेतृत्व डिस होमका यादव तिमल्सिनाले र नयाँ सडकतर्फ कामको नेतृत्व वल्र्डलिङ्का सहदेव वरुवालले गरिरहेका छन् ।

‘कामका लागि सेवाप्रदायक कम्पनीले दुवै रुटमा २÷२ जना खटिएका छन् । काम हरेक दिन विहान साढे ७ बजेदेखि साढे ३ बजेसम्म हुनेछ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।

उनले काममा एकरुपता ल्याउन भन्दै तार व्यवस्थापन गर्न धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु आएको बताए । ‘तार व्यवस्थापनका क्रममा सेवा अवरुद्ध भयो भने सेवाग्राहीमा परेको असरको जिम्मेवार सेवाप्रदायक नै हुने भएकाले नेट कम्पनीहरु आएका छन्,’ पाण्डेले भने । हरेक दिन काम रोकिएको ठाउँबाट नै विहान काम सुरु गर्ने योजना छ ।

तार व्यवस्थापनका लागि विधि पनि तय भएको छ । सुरुमा सेवा प्रदायकले पोलमा टाँगिएका तार भुइँमा खसाल्छन् । प्रयोगमा रहेका तारहरू पहिचान गरेर अरू अनावश्यक र पुराना तार हटाउँछन् । र, सडकको सीमाभन्दा बाहिर पर्ने गरी तार राख्छन् ।

सडक वारपार गराउँदा कम्तिमा ५ सय मिटर दूरीसम्मको क्षेत्रमा एउटै पोलबाट कनेक्सन दिने, एउटै पोलबाट सबै सेवा प्रदायकको केबल पास गराउने, ट्रङ्क फाइबरको जोइन्ट लुप १२ मिटरभन्दा बढी नराख्ने विधि पनि बनाइएको छ ।

इन्टरनेटको तारको वितरण बक्स (डीबी बक्स) लाई व्यवस्थित राख्ने, हरेक पोलको दुवैतर्फ र हरेक ५ मिटरमा केवल बन्डलिङ गरेर व्यवस्थापन गर्ने योजनाअनुसार काम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित