अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले साइकल खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारको टोली स्थलगत रुपमा खटिएको बताए।प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार रुपैयाँ बराबरको साइकल किनेको थियो। साइकल खरिदमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो। प्रवक्ता रिसालले आवश्यक कागजात नियन्त्रणमा लिइएको र त्यसको विस्तृत अध्ययन अघि बढाइने बताए।

धनुषाको जनकपुरस्थित मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल खरिदसम्बन्धी कागजात जफत गरिएको उनले बताए।

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकोप्रति आक्रोश व्यक्त गरेका छन्।उनले सुशासनको पक्षमा काम गरेको प्रदेश र आफूलाई बदनाम गराउने षडयन्त्र भएको दाबी गरे। अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई फोन गरेर आयोगको शैलीको विषयमा आफूले प्रश्न गरेकोसमेत उनले बताए।अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी सबै कागजात नियन्त्रणमा लिएर फर्केको केहीबेरपछि मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता नरुचाउने व्यक्तिले प्रदेश सरकारको बदनाम गर्न जालझेल गरेको बताए।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय