ढाडको नसा च्यापिने कसरी हुन्छ भनेर शुरुमा जान्नुभन्दा पहिला नसासम्बन्धी जानकारी राख्नुपर्छ । सिनियर कन्सल्टेन्ट न्युरो फिजिसियन डा. इशा ढुंगाना भन्छिन्– ‘नसाको सबैभन्दा बढी समस्या तीन ठाउँमा हुन्छ । एउटा बे्रेनमा, अर्को मेरुदण्डमा अनि तेस्रो पेरिफेरियल नभ्र्समा जसलाई हाँगा नसा पनि भनिन्छ ।’ डा. ढुंगानाका अनुसार ब्रेनको नसामा समस्या आउँदा त्यसभित्रका नसाहरु फुट्ने, ब्लक हुने अनि ट्युमर पनि पलाउन सक्ने हुन्छ । ब्रेनभित्रको इलेक्ट्रिकल करेन्टहरु बिग्रेर टाउको दुख्ने, उल्टी हुने, बेहोस हुने, साथै छारेरोगको समस्या देखिन्छ ।

उनी थप्छिन्– ‘कहिलेकाहीँ यसको असरले हातखुट्टामा झट्का मार्ने, प्यारालाइसिस हुने, हातखुट्टा कमजोर हुने हुन्छ । त्यसको साथै ब्रेनभित्र पनि इन्फेक्सन हुनसक्छ । मेनेन्जाइटिस, इन्सेफलाइटिस, मलेरिया, टिबी आदि रोग लाग्न सक्छ । उमेर बढ्दै गएपछि बे्रनभित्रका नसाहरु विभिन्न कारणले सुक्दै जाने, त्यसमा हुने रसायनको लेभल घटबढ हुँदै जानेजस्ता कारणले न्युरो डिजेनेरिटिभ डिजिजहरु देखिँदै जान्छ ।अर्को भनेको स्पाइनलको समस्या हो । स्पाइनल अर्थात् मेरुदण्ड वा ढाड । डा. इशाका अनुसार यसमा पनि नसाहरुमा इन्फेक्सन हुनसक्छ । स्पाइनमा ट्युमरहरु पलाउन सक्छ । धेरै देखिने भनेको समस्याचाहिँ नसाहरु च्यापिन सक्छ । हाँगा नसाहरु पनि विभिन्न कारणले थिचिने, च्यापिने हुन्छ, जसलाई न्युरोप्याथी भनिन्छ ।

मेरुदण्डलाई अंग्रजीमा स्पाइन भनिन्छ । मेरुदण्डमा जम्मा ३३ वटा हड्डीका टुक्राहरु हुन्छन् । मेरुदण्डको अन्य भागभन्दा ढाड र कम्मरमा अलि बढी समस्या आउँछ । मेरुदण्डको हड्डी लचिलो हुन्छ । यसको बीचबाट नसाहरु गइरहेका हुन्छन् । हाम्रो बसाइको तरिकाले अनि काम गराइले गर्दा दुईवटा हड्डीको बीचमा जुन नरम मासु हुन्छ त्यसले ठाउँ छोड्दै जान्छ । अलि–अलि सर्दै गएर ठ्याक्कै नसाले थिचिदिन्छ । ढाड या कम्मरमा ५ वटा भर्टिब्राहरु हुन्छन् । ती प्रत्येक हड्डीका बीचमा एकप्रकारको तन्तु हुन्छ, जसलाई अंग्रेजीमा डिस्क भनिन्छ । डिस्कले गर्दा मेरुदण्डको यो भाग लचकदार र ज्यादा चल्न–खुम्चन सक्ने हुन्छ । हामी बस्दा, निहुँरिदा, कम्मर चलाउँदा आदि विभिन्न शारीरिक काम र कसरत गर्दा सबैभन्दा चल्ने मेरुदण्डको भाग यही हो । यस्ता शारीरिक चालले गर्दा कम्मरको मेरुदण्ड क्रमशः खिइँदै जान्छ र त्यसका नसाहरु कमजोर हुँदै डा. ढुंगाना बताउँछिन् । चोटपटक लागेमा या नसा च्यापिएमा यही भागमा बढी असर पर्दछ । मूल नसामा चोटपटक लागेमा त्यसले दुवैपट्टीका हातखुट्टा नचल्ने अथवा प्यारालाइसिस हुने प्रबल सम्भावना हुन्छ ।

नसा च्यापिनुका कारण

उमेर बढ्दै गएपछि वा विभिन्न कारणले ढाडका विभिन्न भागहरु जस्तै– हड्डी, नसा, डिस्क आदि पनि खिइँदै जान्छ । डिस्कले एउटा वासरको रुपमा काम गरेको हुन्छ । त्यो आफ्नो ठाउँबाट फुस्केर नसा बस्ने प्वालमा अड्किँदा समस्या पर्दछ । त्यसैले गर्दा नसाको प्वाल सामान्य भए तापनि डिस्कले च्यापिन्छ र नसाको समस्या आउँछ । अर्को कारण चोट पनि हो । ढाडको चोट लागेमा जस्तै– लडेर, दुर्घटना परेर, ढाड मर्केर आदिमा पनि नसा च्यापिने सम्भावना हुन्छ । नसामा मासु पलाएर पनि अरु नजिकका नसा च्यापिने सम्भावना हुन्छ तर यो अलिक कम देखिने समस्या हो । नसा च्यापिने प्रमुख कारणमध्ये खराब आसन अर्थात् बसाइ पनि एक हो ।

त्यसै गरी ढाडको हेरचाहको कमी पनि एक हुनसक्छ । त्यसमाथि नेपालीको अनियमित दिनचर्या पनि हो । अचानक झुक्ने, भारी वस्तु सकी–नसकी उठाउने, गलत तरिकाको उठाइ, बसाइ, हिँडाइले पनि नसा च्यापिनमा सघाउ पुर्याएको हुन्छ । डा. इशा भन्छिन्– ‘जहिल्यै पनि कामकै चटारो हुने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता–चप्पल लगाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने, मानसिक तनाव लिने व्यक्तिहरुमा नसा च्यापिने समस्या आउने प्रबल सम्भावना हुन्छ । डाक्टर, प्रहरी, बैँकर्सजस्ता व्यक्ति पनि यसको जोखिममा पर्न सक्छन् ।’ डा. इशाका अनुसार व्यायाम नगर्ने, लामो समयदेखि मोटरसाइकल चलाउने, धेरै बच्चा जन्माएकी आमा, पेट लागेका मानिसहरुमा पनि यो समस्या बढी मात्रामा पाइएको छ । यस्ता व्यक्तिहरुको हड्डी चाँडै खिइने, सुनिने अनि घोटिने हुन्छ ।

नसा च्यापिँदाका लक्षण

विशेषतः बाइक चलाउने व्यक्तिलाई यो समस्याले सताएको छ । डा. इशा भन्छिन्– ‘मकहाँ दैनिक यो समस्या लिएर थुप्रै व्यक्ति आउँछन् । अलि उमेर पुगेका जस्तै– ४०–४५ वर्ष कटेकालाई मात्र ढाडको नसा च्यापिने रोग हुन्छ भन्ने जुन सोच थियो, अहिले त्यो छैन । युवापुस्ता पनि यो समस्या उत्तिकै आइरहेको छ । डा इशाका अनुसार नसा च्याँपिदा मुख्यतः नसाको काम अवरुद्ध हुन पुग्ने हुँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने, लुलो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसक्ने, ढाडमा अधिक पीडा हुने, हरेक क्रियाकलाप गर्दा ढाड र हातखुट्टा दुख्ने हुन्छ । यतिसम्म कि राम्ररी सीधा गरी सुत्नसमेत अप्ठ्यारो हुन्छ । समस्या जटिल भएपछि औँलाहरुमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने अनि प्यारालाइसिस पनि हुनसक्ने हुन्छ । समस्या अझ जटिल भए दिसापिसाब गर्नमै अवरोध पुग्छ अनि अन्तिममा अप्रेसन गर्नुपर्ने हुन्छ ।

कस्तो उपचार

नसा च्यापिएको छ कि छैन भनेर शुरुमा जाँचपड्ताल नै गर्नुपर्छ । त्यसअनुसार उपचार शुरु हुन्छ । डा. इशा भन्छिन्– ‘एमआरआई गरेमा नसा च्यापिएको थाहा पाइन्छ । यदि च्यापिएको छ भने कुन लेभलको चेपाइ छ, थाहा पाउनुपर्यो । शुरुको लेभलमा छ भने औषधि खाएर मेन्टेन गरी कम गर्न सकिन्छ । मध्यम छ भने अलि कडै खालको औषधि र व्यायाम थेरापीहरुले पनि ठीक हुनसक्छ ।’

सामान्य च्यापिएको छ भने बिरामीलाई शुरुमा आसनसम्बन्धी ज्ञान, व्यायामको तरिका सिकाइन्छ । यससम्बन्धी परामर्श दिइन्छ । यदि बेस्सरी च्यापिएको छ भने अप्रेसन नै गर्नुपर्ने डा. इशा बताउँछिन् । उनी भन्छिन्– ‘तर त्यस्तो आपतकालीन छैन भने शल्यक्रिया नगरेकै राम्रो ।’

यो समस्याको प्राकृतिक उपचारमा पूर्ण बेड रेस्टका साथै फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आईएफटी, अल्ट्रासाउन्ड, टेक्सन, तातोको सेकाइ आदि हुन सक्छन् । यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा धेरै फाइदा पुग्छ । यी विधिहरुले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाउन सहयोग गर्छ । ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिसजस्ता उपचार पद्धतिले दुखाइ कम गराउनुका साथै डिक्सलाई यथास्थानमा जान सहयोग पुर्याउने हुन्छ । दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम,योगासनहरु सिकाइन्छ । व्यायामहरु नछुटाइ गर्दा धेरै फाइदा मिल्छ ।कसैलाई नसा च्यापिने समस्यामा अकस्मात् दिसापिसाब रोकिने पनि हुनसक्छ । यस्तो अवस्थामा समयमा उपचार भएन भने बिरामीलाई प्यारालाइसिस हुने सम्भावना रहन्छ । त्यसैले जति सक्दो छिटो विज्ञ भेटेर उपचारको बाटो पहिल्याउनुपर्छ ।

केकस्ता सावधानी अपनाउने

  •  नियमितरुपमा व्यायाम गर्नुपर्छ ।
  •  लामो समयसम्म कुर्सीमा बस्दा सजिलो आसनमा बसौँ, उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर कहिल्यै बस्नुहुँदैन । एउटै आसनमा लामो समयसम्म बसिरहेन व्यक्तिलाई यो समस्या पर्न सक्छ ।
  •  काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ । गरुङ्गो सामान बलपूवर्क उठाउनुहुन्न ।
  •  अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग गर्नुहुँदैन ।
  •  उकालो–ओरालो गर्दा र सिँढी चढ्दा–ओर्लंदा बिस्तारै हिँड्नुपर्छ ।
  •  निहुरिँदा, उठ्दा कम्मरलाई नमोडी घुँडा खुम्च्याएर बिस्तारै गर्नुपर्छ ।
  • शारीरिक तौल सन्तुलनमा राख्नुपर्छ ।
  • गद्दा, फम, डन्लपजस्ता बाक्ला र मुलायम ओच्छ्यानमा सकेसम्म सुत्नुहुँदैन । स्प्रिङ भएको लचकदार ओछ्यान बढी आरामदायी लागे पनि त्यसले ढाडलाई राम्रो गर्दैन ।
  •  सुत्दा सीधा सुत्ने बानी बनाउनुपर्छ । यदि नसा च्यापिएको छ भने घुँडा खुम्च्याएर सुत्नुहुँदैन । गोडामुनि तकिया राखेर सुत्नुपर्छ ।
  •  लामो समयसम्म एउटै आसनमा काम गर्नुहुँदैन, गर्नै पर्ने भए समय–समयमा अवस्था परिवर्तन गनुपर्छ ।
  •  हिँड्दा मज्जाले ढाड सीधा पारेर हिँड्नुपर्छ ।
  • मोटरसाइकल चलाउँदा पनि ख्याल पुर्याउनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय