पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को लिग चरणबाटै बाहिरिएको छ ।

विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

पोखराको जितमा असेला गुनारत्नेले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले २४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनमा क्याच आउट भए।

रित गौतमलाई ५ रनमा फर्स्ट स्लिपमा हरि चौहानबाट क्याच आउट हुँदा लेभी स्पिनर सिकन्द राजाको बलमा टप एज लागेर चौहानबाट क्याच आउट भए।

साहन आर्चाचिगेले ३६ बलमा ४ चौका र १ छक्कासहित ४३ रनको योगदान दिए। विनोद भण्डारी १५ रनमा अविजित रहे।
विराटनगरका प्रतिश जिसी, सिकन्द राजा र हरि चौहानले एक/एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो। विराटनगरका लागि आशिफ शेखले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाए।

यता, सन्दीप रजाली २८ र कप्तान करण केसी २४ रनमा अविजित रहे। यस्तै, शिकन्दर राजा २९ रनमा पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले सम्झनयोग्य रन बनाउन सकेनन्।

पोखराका विक्रम सोबले सर्वाधिक २ विकेट लिए। विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक/एक विकेट लिए।

विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको विराटनगर तेस्रो खेलमा ललितपुरसँग ३७ रनले पराजित भयो।

यता, पोखराले पहिलो खेल भैरहवासँग वर्षाका कारण अंक बाँडेको थियो। दोस्रो खेलमा पोखराले ललितपुरलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा चितवनसँग ९ विकेटले पराजित भएको थियो।

अब विराटनगरले अन्तिम खेल आइतबार काठमाडौंसँग खेल्नेछ। पोखराले सोमबार काठमाडौंसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय