रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा झडप भएपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो। 

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

रुपन्देहीको मोतीपुर आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।

जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

‘गोली लागेर घाइते भएका १३ जनालाई उपचारका लागि यहाँ ल्याइएको थियो। त्यसमा ५ जना प्रहरी हुन्,’ उनले भने,‘४ जनाको मृत्यु भएको छ। ९ जना उपचार भइरहेको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय