रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार झडप भएको स्थानबाट प्रहरीले ठूलो संख्यामा पेट्रोल बम फेला पारेको छ । झडपका क्रममा आन्दोलनकारीले दर्जनौं प्रहरीलाई पेट्रोलबम हानेर घाइते बनाएका थिए । औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशष्त्र प्रहरीले जनाएको छ ।

प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो ।
घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।

औद्योगिक क्षेत्रको जग्गा खाली गराउने विषयमा गत आइतबार उक्त स्थानमा जग्गा कब्जा गरिबसेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडपको क्रममा प्रहरीको गोली लागि जग्गा कब्जा गरिबसेका ४ जना सर्वसाधारणको मृत्यु भएको थियो भने उक्त समूहको आक्रमणमा परी ५० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते छन्।

जग्गा कब्जा गरिबसेकाले उक्त स्थानमा पेट्रोल बम लुकाएको हुनसक्ने आशंकामा सर्च अभियान संचालन गर्दा खर र झाडीभित्र लुकाएको अवस्थामा पेट्रोल बम फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले जानकारी दिए।

बियर र मदिराका बोतलभित्र पेट्रोल भरीसुतली जोडेर राखेको अवस्थामा ती बोतल फेला परेको शुक्लाले जानकारी दिए।

ती बोतलभित्र पेट्रोलसहित फुटेका शिशा, फलामका टुक्रा र फुटेका काँचका चुरा समेत राखिएको भेटिएको छ।

हजारौंको संख्यामा आएकाहरूले चारैतिर कब्जा गरिबसेकोले सबै क्षेत्रमा पेट्रोल बम राखिएको हुनसक्ने भन्दै खोजी भइरहेको सशस्त्र प्रहरीले बताएको छ।

गत वैशाख महिनादेखि देशका विभिन्न जिल्लाबाट सुकुम्बासीको नाममा आएका व्यक्तिहरूले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले गत आइतबार उक्त क्षेत्र खाली गराउँदा दोहोरो झडप भएको थियो।

अहिले उक्त क्षेत्रमा रूपन्देहीको सँगै नवलपरासी र कपिलवस्तुको समेत सशस्त्र र दंगा प्रहरीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय