नवरात्रिको नवौ दिनलाई महा नवमी भनिन्छ । विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । नवरात्रको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ ।यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पूज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पूज्नु हुँदैन । रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पूज्नु पर्दछ आदि । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।

तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।

सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन् । पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए ।

ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो ।

तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गरिएको छ । तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् ।

उनी सिम्रौनगढका राजा थिए । मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर १ सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजा–अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ ।

सर्वसाधारणका लागि तलेजु मन्दिर वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ पूजाआजा भने भैरहेको हुन्छ । बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी उद्धव साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन् । कर्माचार्यका अनुसार एउटा पूजा गर्न कम्तीमा ८ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा तीनवटा थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन्, कर्माचार्य, जोशी र राजवंशी ।

त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ जस्तो नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

यो तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस, त्यसमा पनि १६ जातका मानिस अनिवार्य चाहिन्छ ।

तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाए । त्यहाँ पूजा गर्न विधि–विधान पुर्‍याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ ।

राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् । ‘किन सर्वसाधारणका लागि यो मन्दिर सधैं खुला हुँदैन ?’ ‘छोपेको चिजलाई छोप्नैपर्छ ।’ पुजारी उद्धवले अथ्र्याए, ‘सधैंभरि देख्न पाए त्यसको महत्त्व हुँदैन । भगवान् पनि अदृश्य नै राम्रा ।’ हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो ।

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताउनुभयो ।

बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबारको मूलढोकासम्म पुगेको छ । आज लाममा बस्ने सबैलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय