क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो ।मुद्दाको विषयवस्तु, गाम्भीर्य, बहसको लागि जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट हुने कानुन व्यवसायीहरूको उपस्थिति एवं बहसको क्रममा लाग्ने समय समेतलाई दृष्टिगत गरी तिनै पक्षको उपस्थितमा इजलास समक्ष भएको छलफल समेतबाट मुद्दामा बहस नोट मार्फत सबै विषयहरूलाई लिखित रूपमा पेस गरी मुद्दालाई अगाडी बढाउँदा मनासिब हुने निष्कर्ष निकालिएको हो । आदेशमा २०८० मङ्सिर २२ गते कार्यालय समय भित्र जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट लिखित बहस नोट पेस गर्न लगाई मिसिल सामेल गर्न भनिएको छ ।
त्यस्तै मङ्सिर २४ गतेको लागि प्रस्तुत मुद्दा सुनुवाइ हुने पेशी तारेख तोकी वादी तथा प्रतिवादीबाट स्थगित नहुने गरी जानकारी गराउन भनिएको छ ।
यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गर्ने आदेश गरेको थियो ।
त्यसपछि लामिछानेको मुद्दा पेशीमा चढेको थिएन । केही कागजातमा आमाको उमेर कम देखिएको र आमाकै उमेरका सम्बन्धमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्ममिति समेत यकिन हुने गरी कागजात माग गर्ने आदेश भएको थियो । त्यसपछि असोज १ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।
Discussion about this post