Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपत्यकामा ड्रोनबाट अवाञ्छित गतिविधिको निगरानी

205
VIEWS

काठमाडौँ उपत्यकामा तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी गर्न थालेको छ । अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने,‘न्यूरोड र ठमेल जस्ता अत्यधिक आवतजावत हुने ठाउँमा ड्रोनबाट सुरक्षा निगरानी गरिरहेका छौँ ।’

काठमाडौँ प्रहरीले सुरक्षा योजना बनाएर तिहारको सुरक्षाका लागि प्रहरी परिचालन गरेको छ । लुटपाट र चोरी हुनसक्ने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । एसएसपी खत्री भन्छन्,‘पैदल गस्ती बढाएका छौँ ।’

जिल्ला सुरक्षा समितिले काठमाडौँ उपत्यकामा रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले जानकारी दिए ।

तिहारको सुरक्षाका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा ७ हजार ६ सय ३३ जना प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रहरी कार्यालयले लागु गरेको सुरक्षा योजना अनुसार तिहारमा ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी खटिएका छन् । आपराधिक गतिविधि नियन्त्रण गर्न ५ हजार ८३३ जना सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा प्रहरीको पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकलमार्फत क्यूआरटी (क्विक रेस्पोन्स टिम), कन्ट्रोल रुम भेहिकल (सिआरभी) र पिकेटिङ परिचालन गरिएको छ । काठमाडौँ जिल्लामा मात्रै ९१ ठाउँमा पिकेट ड्युटी खटाइएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

उपत्यकामा आकस्मिक चेकजाँच, ड्रोनमार्फत निगरानी र  बडी वर्न क्यामेराबाट निगरानी गर्नेगरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना लागु गरेको छ । बित्तय संस्था तथा नगद र बहुमूल्य गहनाको कारोबार हुने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । ती स्थानहरुमा साना हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यात्रुलाई आवत जावतमा सहजका लागि काठमाडौँको १२ ठाउँमा, ललितपुरमा ३ र भक्तपुरमा २ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । मल, मार्टहरु र उपत्यका भित्रिने मुख्य नाकाहरुमा केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरहरुबाट चेकजाँच गर्नेगरी सुरक्षा व्यवस्था लागु गरिएको छ ।

चाडपर्वमा लुटपाट र चोरी हुनसक्ने हुनाले बहुमूल्य गहना लगाएर भिडमा नजान प्रहरीले आग्रह गरेको छ । उपत्यका प्रहरी कार्यालयले भनेको छ,‘नगद र महँगो मोबाइल बोकेर भिडभाडमा सकेसम्म नआऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित