बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो ।

भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि गत मङ्गलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ। त्यसपछि मौसमको अवस्था र विमानस्थलको स्थिति हेरेर पूर्ण रूपमा विमानस्थल सञ्चालनमा आउनेछ।

उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

यसैबीच कम्पनीहरुले विराटनगर विमानस्थलमा फसेका आफ्ना जहाज भने काठमाडौं फर्काएर अन्य गन्तव्यमा उडाइरहेका छन् । कम्पनीहरुले विराटनगरको विकल्पमा भद्रपुर र राजविराजमा अतिरिक्त उडान गरेका छन् ।

यस्तै यसअघि दैनिक ५ उडान गर्दै आएको यति एयरलाइन्सले भोलि पनि सबै ५ उडान नै गर्ने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले सेतोपाटीलाई जानकारी दिए।

विराटनगर विमानस्थलबाट यसअघि दैनिक रूपमा काठमाडौंका लागि बुद्ध एयरले नौ, यती एयरलाइन्सले पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार–चार र गुण एयरले एकवटा उडान गर्दै आएका थिए। डुबानका कारण दैनिक रूपमा हुने करिब २५ वडा उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट उडान थपेर सेवा दिइरहेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय