सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको ‘फुलकोर्ट’ को बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।बारका पदाधिकारीसँगको छलफल गत्तै सर्वोच्च अदालतमा उपस्थित भएका १४ न्यायाधीशहरुको बैठक बसेर प्रधानन्यायाधीश राणाले अदालतलाई बदनाम गरेर आफू बच्नका लागि विषान्तर गर्न फुलकोर्ट बोलाएको निष्कर्ष निकालेका हुन्।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।दिउँसो २ बजेदेखि न्यायाधीश दीपक कार्कीको संयोजकत्वमा बसेको छलफलको बीचमै प्रधानन्यायाधीशले सोमबार फुलकोर्ट बैठक राखेको नोटिस पाएपछि उनीबारे धारणा बनाउने विषय मोडिएको एक न्यायाधीशले बताए।

‘त्यसपछि बारसँग राखिएको फुलकोर्ट बैठकमा बस्ने कि नबस्ने भन्ने छलफल भयो अनि हामी १४ जना नै भोलिको बैठकमा उपस्थित नहुने निर्णय गर्‍यौं,’ उनले भने, ‘हामी १४ जनाको छलफल भोलि ११ बजेदेखि नै निरन्तर हुन्छ।’

उक्त बैठक चलुन्जेल न्यायाधीशहरू इजलासमा नबस्ने उनले बताए।

एक अर्का न्यायाधीशले पनि बारसँगको फूर्लकोर्ट १४ न्यायाधीशले बहिष्कार गर्ने निर्णय भएको पुष्टी गरे।

‘प्रधानन्यायाधीशबाट राज्यका कार्यकारी शक्तिसँग, सरकारसँग राजदुत माग्ने, मन्त्री माग्ने र स्वतन्त्र न्यायपालिकाको हुर्मत लिने बदनाम गर्ने जुन काम भएको छ त्यसबारे हामीले छलफल गर्दै थियौं। त्यसबीचमा भोलि हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकाको विकृति हटाउन दिएको प्रतिवेन र वकिलको बरिष्ठताबारे छलफल गर्न बारसँगको फुलकोर्ट राखिएको भन्दै सूचना आयो,’ उनले भने, ‘प्रधानन्यायाधीशले अहिलेको समसामयिक विषयलाई मोडेर वकिलहरूलाई फकाउन बरिष्ठता दिन्छौै भनेर बोलाएको बैठकमा हामी सहमत भएनौं। त्यसैले नजाने निर्णय गर्‍यौं’

आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणासहित १५ न्यायाधीश हाजिर थिए।

न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बारको बैठकमा उपस्थित नहुने निर्णयमा सामेल थिए।

यी १४ न्यायाधीश नै भोलि पनि छलफलामा बस्ने एक अर्का न्यायाधीशले बताए।

सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश सहित २० न्यायाधीश छन्। ती मध्ये आज प्रधानन्यायाधीश राणा सहित १५ न्यायाधीश उपस्थित थिए।

न्यायाधीशहरुले आफूहरुले इजलास भने बहिस्कार नगर्ने बताएका छन् । उनीहरुले सोमबारका लागि डाकिएको पूर्ण बैठकमा सहभागी नहुने निर्णयमात्रै गरिएको बताए ।

‘हामी १४ जना न्यायाधीशहरु आज खाजा समयपछि छलफलमा व्यस्त भयौं । अहिलेको नेतृत्वबाट न्यायपालिकाको सुधार हुदैन भन्ने हाम्रो निष्कर्ष हो’ एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘विषयान्तर गर्न खोजिएको, मूल एजेण्डाबाट विमुख भएको निश्कर्ष निकालेर हामी बैठकमा सामेल नहुने भनेका हौं ।’

ती न्यायाधीशका अनुसार सोमबार विहानैदेखि असन्तुष्ट न्यायाधीशहरु छुट्टै छलफलमा सहभागी हुनेछन् । आफूहरुको एजेण्डा निकै लामो भएकाले कम्तीमा २/३ घण्टा छलफल लम्बिने उनले बताए । ‘फर्स्ट आवर (खाजाअघिको पहिलो सत्र) मा त इजलास बस्न कठिन होला’ उनले भने, ‘त्यही अनुमान गरेर कतिपयले इजलास बहिस्कार भनेका होलान् । तर हामीले त्यसबारे न सोच बनाएका छौं, न सहमति नै बनेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय