नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कर्माछिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । यसमा सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद ।’

उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन्। यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन्।

‘हामी हाम्रो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौं। म वाचा गर्छु, नेपाली फुटबलको भविष्य राम्रो हुनेछ। तर, हामीलाई समय दिनुहोस्,’ उनले भनेका छन्।

उनले आफू र आफ्नो खेलाडीलाई नेपाली फ्यानहरूको साथ र माया चाहिएको पनि बताएका छन्। यता, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्रशिक्षक अल्मुताइरीसँग नयाँ सम्झौता भएको जानकारी दिए।अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय