नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरेको हो ।

यही कात्तिक २९ गतेदेखि हुने लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

त्यस्तै उपविजेता त्रिभुवन आर्मी फुटबल क्बलले अर्को बिभागीय टोली नेपाल पुलिस क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।

गत सिजन तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङदीले जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । मनाङ लिगमा सबभन्दा धेरै आठ पटक उपाधि जित्ने क्लब हो । त्यस्तै थ्री स्टारले ललितपुर डर्बीमा च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

१४ फागुन गतेसम्म हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा संचालन हुने लिगका निर्देशक सञ्जिव मिश्रले बताए । लिगमा जम्मा ९१ खेल हुनेछन् । अन्तिम चार चरणका खेल सातामा दुई दिन मात्र खेलाउनेछ । त्यसो गर्दा एक दिन चार खेल र अर्को दिन दिन ३ खेल हुनेछन् ।

यसपटक लिगबाट दुई टोली रेलिगेशनमा पर्नेछन् ।

लिगको विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै लिगमा धेरै गोल गर्नेलाई गोल्डेन बुट, प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल, उत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोब्स र उदीयमान खेलाडीलाई राइजिङ स्टार अवार्डबाट सम्मानित गरिने एन्फाले जनाएको छ ।

लिगमा साबिक विजेता मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, जावलाखेल युथ, न्युरोड टिम ( एनआरटी), हिमालयन शेर्पा, ब्रीगेड ब्वाइज, फ्रेण्ड्स, एपीएफ, च्यासल युथ, संकटा रसातदोबाटो युथले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटो यसै सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको हो ।

एन्फाले दोस्रो चरणसम्मको खेल दशरथ रंगशाला र एन्फा मैदानमा खेलाउने छ । त्यस्तै पछिल्ला चरणका खेलहरु च्यासल मैदान र पोखरा रंगशालामा पनि खेलाउने एन्फाले जनाएको छ ।

करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले बताए । खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ । हरेक खेलको विजेताले ५० हजार पाउने छन्। खेल बराबरीमा सकिए दुवै टोलीले २५र२५ हजार पाउने एन्फाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय