उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडेको बताएका छन् । सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिए ।
बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिर जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।
‘कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरु छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन् । ८/१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इंगित गरेको छ’ गृहमन्त्री लामिछानेले भने, ‘कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनु भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी मान्छेलाई कसैको हाजिर जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ ।’
उनले यसबारे अदालतले पनि स्पष्ट पारिसकेकोले नकारात्मक टिकाटिप्पणी आवश्यक नभएको बताए। दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा आफू प्रतिबद्ध रहेको पनि उनले बताए।
Discussion about this post