प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री चयन गर्ने प्रक्रिया उल्लेख छ । सोही अनुसार प्रदेश प्रमुख प्यासीले १ बजेभित्र मुख्यमन्त्रीको प्रस्तावसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आचार्य गत भदौ १० गते नेकपा एमाले संसदीय दलको नेता हुँदै प्रदेश १ को मुख्यमन्त्रीमा चयन भएका थिए । उनले मुख्यमन्त्री बनेको ६८ दिनपछि सोमबार राजिनामा दिएका हुन् ।

विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने सहमति आइतबार नै भइसकेको छ । उक्त सहमतिपछि विपक्षी पाँच दलीय गठबन्धनले सांसदहरुको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय