तिहारमा दिदीबहिनीले दाजुभाइको लागि टिका पश्चात दिने भाइमसलाको भाउ गत वर्षभन्दा १५ प्रतिशत बढी वृद्धि भएको पाइएको छ । तिहारमा मूख्य रूपमा प्रयोग हुने भाइमसला, चिनी , घ्यू , तेल, फलफूल लगायतका वस्तुको मूल्य उल्लेख्य वृद्धि भएकाले यसपालिको तिहार उपभोक्ताको लागि अत्याधिक महंगो हुने भएको हो । तिहारमा प्रयोग हुने मसलाको किनबेचको समयमा भाउ बढ्दा उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूको मिलेमताेले चाडपर्व आउँदा तथा केही अभाव देखिनासाथ भाउ बढाउने गरेको छन् । कोभिडले बल्ल उठ्न थालेको अर्थतन्त्रमा पर्याप्त अनुगमन नहुँदा व्यापारीहरूले आफूखुसी मूल्य राखेर मौकामा चौका हान्ने प्रवृतिले उपभोक्ता मारमा पर्ने गरेका छन् ।

सबै कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट आयात गर्नुपर्ने बजारमा अनुगमनको जिम्मा पाएको वाणिज्य विभागले बजार अनुगमन प्रभावकारी नबनाउँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।

भाइमसलामा दालचिनी, मिश्री र मखना, काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर आदि पर्छन् । खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले भाइमसलाको मूल्य अघिल्लो वर्षको भन्दा नबढेको बताए ।

उनले भने, ‘यस वर्ष केही भाइमसलाको मूल्य घटेको र केहीको बढेको छ । तर, धेरैजसोको चाहिँ स्थिर छ ।’

अघिल्लो वर्ष ४ हजार ८ सय रुपैयाँ प्रतिकेजी पर्ने सुकुमेल यसपाली प्रतिकेजी २ हजार ६ सयमा झरेको छ । सरकारले आयातमा प्रतिबन्ध लगाएको छोकडाको प्रतिकेजी ६० रुपैयाँ मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको तिहारमा छोकडा प्रतिकेजी २ सय रुपैयाँ थियो भने यस वर्ष २ सय ६० रुपैयाँ पुगेको छ । व्यापारीले पहिले नै ल्याएर राखेको भएर पनि केजीमा नै ६० रुपैयाँ मूल्यवृद्धि भएको हो ।

खुद्रा व्यापार संघका अनुसार भारतबाट आउने दालचिनी प्रतिकेजी ५ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि यही मूल्य थियो । ओखर र काजुको मूल्य पनि पहिलेकै मूल्य कायम रहेको छ । ओखर नेपाली बजारमा प्रतिकेजी ५ सय रूपैयाँमा पाइन्छ भने काजुको प्रतिकेजी १ हजार ५ सय रूपैयाँ पर्छ ।

ल्वाङको मूल्य भने यस वर्ष वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा ल्वाङको मूल्य प्रतिकेजी २ सय रुपैयाँले बढेको हो । अघिल्लो वर्ष प्रतिकेजी १ हजार मूल्य रहेको ल्वाङ यसवर्ष १ हजार २ सय पुगेको छ ।

बदाम पनि अघिल्लो वर्षकै मूल्यमा पाइन्छ । यसको मूल्य प्रतिकिलो १ हजार २ सय रूपैयाँ रहेको छ ।

नरिवलमा भने मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष प्रतिकेजी ३० रुपैयाँले मूल्यवृद्धि भएको हो । अघिल्लो वर्ष ५ सय रुपैयाँ प्रतिकेजीमा पाइने नरिवल यसवर्ष ५ सय ३० रूपैयाँ पुगेको छ ।

किसमिसको भने मूल्य स्थिर छ । किसमिस अघिल्लो वर्ष प्रतिकेजी ५ सय रुपैयाँ केजी रहेको थियो । यस वर्ष पनि सोही मूल्यमा पाइन्छ ।

भाइमसलाको रुपमा प्रयोग हुने अन्जिरको पनि मूल्यमा खासै फरक परेको छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष केजीमा ३० रुपैयाँ मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिकेजी १ हजार ७ सय मूल्य रहेकोमा यसवर्ष १ हजार ७ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

मिश्रीको पनि पुरानै मूल्य रहेको छ । अघिल्लो वर्षजस्तै यस वर्ष पनि २ सय नै मूल्य रहेको खुद्रा व्यापार संघले जनाएको छ । काजूको मूल्यमा भने प्रतिकेजी ५० रुपैयाँ वृद्धि भएको छ । अघिल्लो वर्ष १ हजार ४ सय ५० रुपैयाँ मूल्य रहेको काजू यसवर्ष १ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

खुद्रा व्यापार संघको थोकलाई दोष

नेपाल खुद्रा व्यापार संघका अनुसार थोक व्यापारीले अनेक बाहानामा चाडपर्वमा भाउ बढाउने गरेको व्यापार संघको भनाई छ । तिहारमा प्रयोग हुने काजु, छोकडा  लगायतको भाउ अत्यधिक बढेको बताउँछन् । खुद्रा व्यापार संघ पूर्व अध्यक्ष पवित्रमान बज्राचार्य थोक व्यापारीले अनेक बाहानाले भाउ बढाउने गरेको बताउँछन् । काजुको भाउ हाल प्रतिकेजी १६ सय देखि १८ सयसम्म पुगेको छ गत वर्ष यसको कारोबार १४ सय देखि १५ सय सम्म रहेको बज्राचार्य बताउँछन् । गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतसम्म भाउ बढेको बज्राचार्य बताउँछन् ।

थोक व्यापार संघ भन्छ भाउ बढेको छैन्

उता नेपाल थोक व्यापारसंघ भने सुनिए जस्तो मूल्यवृद्धि नभएको बताउँछन् । बजारमा सुनिए जस्तो मूल्यवृद्धि नभएको थोक व्यापारसंघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । सामान्य रूपमा केही मूल्यवृद्धि त भएको छ  तर बजारमा हल्ला फिजाएजस्तो मूल्यवृद्धि नभएको श्रेष्ठ बताउँछन् । हाल सामुद्रिक मार्गमा तथा ढुवानीमा भएको मूल्यवृद्धिले बजार ८ देखि १० प्रतिशतसम्म बढ्नु भनेको सामान्य नै हो तर बजारमा बढि नै हल्लाले पनि मूल्य तल माथि हुने गरेको श्रेष्ठ बताउँछन् ।

व्यापारीको मिलेमतोलमा बढ्यो मूल्य

नेपालमा हुने गरेको मूल्यवृद्धिमा थोक तथा खुद्रा दुवैले एक अर्कालाई दोष देखाएर मूल्य बढाउने गरेको उपभोक्ताकर्मीहरू बताउँछन् । व्यापारीहरू एकअर्काप्रति दोषाराेपण गरेर उपभोक्ताको ढाड सेक्ने गरेको उपभोक्ताकर्मी प्रेमलाल महर्जन बताउँछन् । चाडपर्व आउनासाथ एक अर्का माथि दोष लगाउँदै खाद्य वस्तुको मूल्य बढाउने गरेको महर्जन बताउँछन् । तिहारमा पनि व्यापारीहरूले भाइमसला तथा फलफूलको मूल्य बढाएका छन् अन्तराष्ट्रिय बजारको दोष देखाएर नेपालमा मूल्य बढाउने सजिलो उपाय निकालेको महर्जन बताउँछन् । कतिपय व्यापारीले सामान लुकाएर समेत भाउ बढाउने गरेको उपभोक्तावादीको आरोप रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय