नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सञ्चालक नेपालले मुन्द्रेको कमेडी क्लबका कलाकार ‘फुलन्देकी आमा’ (उमेश राई) अरू नै कार्यक्रममा आबद्ध भएकाले आफ्नो सो बन्द गर्नुपरेको जानकारी दिए। आफू मीठो अनुभवसहित कार्यक्रमबाट बिदा हुन लागेको उनले बताए । उनले यसो भनिरहँदा जितु र उनको छेवैमा रहेकी नायिका करिश्मा मानन्धरको अनुहार मलिन देखिन्थ्यो । सोमबार मुन्द्रेको कमेडी क्लबको अन्तिम सो प्रसारण भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जितुले सो बन्द हुनुका केही कारणबारे प्रकाश पार्ने प्रयास गरे । सो बन्द हुनुको मुख्य कारणमा उनले फुलन्देकी आमाको भूमिकामा देखिएका उमेश राईलाई दोषरोपण गरे ।उनले भने, ‘फुलन्देको आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर, फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नि । अनि मलाई चाहिँ धोका दिन मिल्थ्यो त ?’

जितुले कार्यक्रम बन्द हुनुको पछाडि विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङको दोहोरो चलखेल पनि कारण रहेको बताए । आफूलाई जानकारी नदिइ आफ्नो टीमका सदस्यलाई होस्ट गराएको भन्दै उनले दुःख व्यक्त गरे ।उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो तर निर्माण एजेन्सीले सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजन कार्यक्रम बनाएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले दाबी गरे।मुन्द्रेको कमेडी क्लबमा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश राई) यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएका हुन्।
करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले पत्रकारसमक्ष बताए।
‘मुन्द्रेको कमेडी क्लबले ५०/६० जनालाई रोजगारी दिइरहेको थियो। बिचमै बन्द गर्नुपर्दा दुःख लागेको छ। तर आफूले यो घटनाबाट विश्वासमा नभई सम्झौतामा काम गर्नुपर्ने पाठ सिकेको छु’, उनले भने, ‘मैले जानीनजानी धेरै दु:ख गरेर करिब २ वर्ष अगाडि मुन्द्रेको कमेडी क्लब ल्याएको थिएँ । दर्शकले रुचाइदिनु भयो। मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिजन ७६ भागसम्म प्रशारणमा आएको थियो। दोस्रो सिजन ५६ भागसम्म प्रशारणमा आयो।’

यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भए फेरि आउनसक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।
यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने। यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको बताइन्।

शोले आफूलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्‍याएको भन्दै उनले मिहेनत गरेर दर्शकले रूचाएको यो कार्यक्रम यसरी रोकिनु राम्रो नभएको बताइन्। उनले जीतुले यो शो बन्द गरे पनि अर्को जुनै काममा आफूलाई सम्झिए साथ दिन तयार रहेको जानकारी दिइन्।शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो।
‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले आफूसँग सल्लाह नै नगरी उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने।
सुरुदेखि नै कार्यक्रमलाई लक्षित गर्दै नकारात्मक कमेन्ट गरेको आरोप समेत उनले लगाए । सुरुआतमा भारतीय कमेडियन कपिल शर्माको नक्कल गरेको र पछिल्लोपटक दीपाश्री निरौला महानायक विवादमा मुछिएपछि धेरै नेगेटिभ कमेन्ट आएको उनले बताए ।
अर्कोतर्फ, कार्यक्रममा सहभागी हुने अतिथिको कमीलाई पनि जितुले कारणको रुपमा देखाए । एउटै सेलेव्रिटी धेरैपटक दोहोरिएको बताउँदै उनले अर्कोतर्फ स्थायी सुटिङ सेटको अभाव पनि एउटा प्रमुख कारण रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय