जनकपुरधाम उपमहानगरपालिका– २० रूपैठामा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दू धर्मावलम्बीहरूलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद अहिले दंगाको रूपमा परिणत भएको हो ।
दुवै पक्षको विवादले उग्र लिई दंगामा परिणत भएपछि स्थानीय प्रशासनले सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनामा चारजना सशस्त्र, एक नेपाल प्रहरी र एक महिला गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले इकागजलाई जानकारी दिए । तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौं राउन्ड आश्रुग्यास प्रहार गरिसकेको छ । दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलाले बताए ।

पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐनबमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

कार्तिक २४ गते मुस्लिम समुदायले हिन्दूलाई छठ मनाउन अबरोध गरेका थिए । सो क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो । सुरक्षाकर्मीले हिंसात्मक झडप हुन नदिए पनि हिन्दूहरु छठ मनाउन बञ्चित भए । सोही कारण त्यहां तनाव बढ्दै गएको छ ।

मुस्लिम समुदायले छठ मनाउन नदिएर हिन्दूमाथि अन्याय गरेको भन्दै हिन्दूवादी संगठनहरुले त्यहाँ शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । शक्ति प्रदर्शन गर्ने क्रममा सम्प्रदायिक हिंसा भड्किने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
उनले जारी गरेको सूचनामा भनिएको छ, ‘आज केही उच्छृङ्खल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।’अहिले रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच झडप जारी छ भने प्रहरीले जनकपुरधाम जटही सडकखण्ड पुर्णरूपमा बन्द गरेको छ । स्थानीय ओमप्रकाश पण्डितले मुस्लिम समुदायका व्यक्तिहरू आफूहरूको घर– घरमा घुसेर कुटपिट गरिरहेको बताए । मुस्लिमबाहुल्य क्षेत्र भएका कारण कुनै पनि समय अप्रिय घटना हुनसक्ने उनको भनाइ छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय