कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र एक नम्बर गेट प्रयोग गरेर प्रवेश गरेका छन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत र बार परिसरमा कानून व्यवसायीहरूले आन्दोलन जारी राख्दा उच्च सुरक्षाबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् । जबराको राजीनामा माग गर्दै आन्दोलित बनेको बारले उनलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

राजीनामा दिन इन्कार गर्दै आएका जबराले आज आफूबाहेकका न्यायाधीशहरूको १० वटा इजलास तोकेका छन् । ती १० इजलाशमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ । सर्वोच्च अदालतको मुख्य गेटभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई रोक्न भन्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले धर्ना दिइरहेका बेला गेटबाहिर भने एउटा समूहले प्रधानन्यायाधीश राणाको पक्षमा पक्षमा प्रदर्शन गरेको छ।

राष्ट्रिय झन्डा बोकेर आएका केही मानिसहरूले न्यायमा अवरोध गर्न पाइँदै भन्दै वकिलहरूको धर्नाको विरोध गरेका हुन्। आफूविरूद्ध बाहिर प्रदर्शन भएपछि धर्नामा बसेका वकिलहरूले ‘चोलेन्द्रका मतियार, होसियार भन्दै’ नारा लगाएका थिए। बाहिर प्रदर्शन गर्नेहरूलाई प्रहरीले केहीबेरमा त्यहाँबाट हटाएका छन्। वकिल र बाहिर प्रदर्शन गर्ने समूहबीच तनावको अवस्था नआओस् भनेर सर्वोच्च अदालतमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।

वकिलहरूले मूल गेटमा अवरोध गरेपछि प्रधानन्यायाधीश राणा आज पनि अर्कै गेटबाट अदालत प्रवेश गरेका छन्। यसअघि बारले शुक्रबार पनि राणालाई सर्वोच्चको मूलगेटबाट प्रवेश दिएको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय