आन्दोलन कानुन व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन आन्दोलनरत छन् । कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै सम्वादमा आउन आग्रह गरेका छन् ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग वार्ता गर्ने बताएका छन् । ‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ । बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उभिएका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं । नयाँ नेतृत्वसँग वार्ता हुन्छ ।’
यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जबरासँग वार्ता नहुने बताए । ‘वक्तव्यबाट वार्ता आह्वान गरेको वक्तव्यको जवाफ वक्तव्यबाट दिन्छौँ’, उनले भने, ‘जबराको नेतृत्व नमान्ने भनेपछि उहाँसँग वार्ता हुँदैन । न्यायको शुद्वीकरणका लागि नयाँ आउने नेतृत्वसँग वार्ता हुन्छ । यो नेतृत्वसँग हुँदैन ।’ प्रधानन्यायाधीशको आहृवानबारे वक्तव्यमार्फत जवाफ दिने भन्दै उनले भने, ‘उहाँसँग हामीले वार्ता गर्ने प्रश्नै उठ्दैन । हामीले वार्ता भनेको उहाँको राजीनामापछि आउने नेतृत्वसँग हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय