कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर्माण सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीकाे उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी/जिएसएल जोइन्ट भेन्चर कान्तिपथ काठमाडौँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे। ‘हरेक ठूला आयोजना सङ्घ सरकारबाट हुँदै आएका छन् तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ’, उनले भने, ‘यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।’

प्राकृतिक रुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उनले सुझाए।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए।
निर्माण सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न व्यवसायीलाई अनुरोध गरेका छन । उनले सरकार, खेलकुद परिषद् र निर्माण व्यवसायी सबै गम्भीर बनेर आयोजना निर्माणमा सक्रिय बन्नुपर्ने बताए ।

‘पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्न रंगशाला बनाउन लागिएको छ । यो वा त्यो ढंगबाट बहानाबाजी गरी काममा ढिलाइ नगर्नु होला,’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली सरकारले गत २६ असारमा रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । कर्णालीमा खेलकुदको विकासका लागि रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको सरकारले जनाएको छ । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगिता हुनुभन्दा पहिला नै खेलकुदका संरचना बनाउने गरी तयारी थालिएको हो ।

भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । अधिकांश जिल्लामा सामान्य खेल मैदानहरू पनि निर्माण भएका छैनन् । जसले गर्दा खेलाडीहरूलाई दैनिक अभ्यासका साथै जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा समेत समस्या हुँदै आएको छ ।

‘हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ’, उनले भने, ‘दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रङ्गशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ ।’

प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई ६ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उनले जानकारी दिए। नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी/जिएसएल जोइन्टर भेन्चरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नम’ना र गुणस्तरयुक्त रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हामीसँग रङ्गशाला निर्माणको राम्रो अनुभव छ’, उनले भने, ‘यसअघि दाङ सम्पन्न गरिसकेका छौँ भने पोखरा अन्तिम चरणमा छ।’

दशहजार दर्शक क्षमताकाे रङ्गशालामा भूकम्प प्रतिरोधी प्याराफिट बन्नेछ। भिआइपी प्याराफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जनाए।

उनका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ। यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय